पश्चिमी वायुको प्रभावले मंगलबारदेखि बादल-वर्षा भइरहेको मौसममा बिहिबार दिउँसोदेखि सुधार हुने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी भेगमा हल्का वर्षा भए पनि आज दिउँसोदेखि पश्चिमी वायु कमजोर हुँदै जानेछ।
‘दिउँसोदेखि पश्चिमी वायु कमजोर भएर आकाश खुल्दै जानेछ र काठमाडौंमा पनि घाम लाग्नेछ,’ महाशाखाका मौसमविद् बरूण पौडेलले भने।
शुक्रबार देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
शनिबार पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने पौडेलले बताए।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस २४ गते (बिहीबार)
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ।
राति: देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदली रही पश्चिमका एक-दुई स्थानमा साथै मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
पुस २५ गते (शुक्रबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यत: सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यत: सफा रहनेछ।
पुस २६ गते (शनिबार)
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यत: सफा रहनेछ।
राति: देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
