नाइजेरिया – नाइजेरियाले त्यहाँको व्यावसायिक केन्द्र लागोसमा भाडा लिएर यात्रुलाई सेवा प्रदान गर्दै आएका मोटरसाइकलमाथि प्रतिबन्ध लगाउने भएको छ । शहरका करीब सबै क्षेत्रमा व्यावसायिक मोटरसाइकल चलाउन बन्देज गर्न थालिएको हो । सरकारको पछिल्लो कदमले त्यहाँका यात्रु मात्रै नभएर अनलाइन बुकिङमार्फत सेवा दिइरहेका स्टार्टअप कम्पनी समेत मारमा पर्ने निश्चत छ ।
लागोसको राज्य सरकारले ट्विट गर्दै ओकाडास भनेर चिनिने व्यावसायिक मोटरसाइकलमाथि प्रतिबन्ध लगाउने बताएको हो । दुईपांग्रे सवारीसाधनमा यात्रुलाई सेवा दिँदै आएका ओकाडासका कारण शहरमा अराजकता, अव्यवस्था र ज्यानै जानेगरी दुर्घटना समेत बढेको ट्विटमा भनिएको छ । ओकाडा र केके भनिने साना तीनपांग्रे सवारीसाधनमा फेबु्रअरी १ देखि प्रतिबन्ध लागू हुनेछ । मध्य लागोसको सुदूर पश्चिममा भने यस्ता सवारीसाधनमाथि रोक लगाइनेछैन ।
सरकारले सन् २०१८ मा ल्याइएको एक कानूनलाई उद्धृत गरेर प्रतिबन्ध लगाएको हो । लागोसका सडकमा भीडभाड र जाम अत्यधिक हुने गरेका छन् । ठूला सवारीसाधनमा घन्टौं बिताएर यात्रा गर्नुभन्दा दुई र तीनपांग्रे व्यावसायिक सेवा प्रदायकहरू प्रयोग गर्दा समय बच्ने भएपछि लागोसमा यस्ता अनलाइन सेवाको प्रयोग पछिल्लो समय निकै बढेको छ । सरकारको पछिल्लो निर्णयले सर्वसाधारण मात्रै होइन, दुई र तीनपांग्रे सवारीसाधनलाई आम्दानीको स्रोत बनाएका चालक समेत चिढिन सक्ने विश्लेषण गरिएको छ । एजेन्सी
