काठमाडौं – सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डिआइजी)को पद रिक्त भएको एक महिना नबित्दै बढुवा भइसकेको छ ।
नेपाल प्रहरीमा भने वरिष्ठ अधिकृत तहका दर्जनौं पद रिक्त भएको महिनौं बित्दा पनि बढुवा हुन सकेको छैन ।
सर्वोच्च अदालतले पद रिक्त भएको तीन महिनाभित्र बढुवा गरिसक्न सरकारलाई दुई वर्षअघि निर्देशन दिएको थियो ।
तत्कालीन एसएसपी यादवराज खनालले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको थियो ।
तर, सो आदेशको गृह मन्त्रालयले अवज्ञा गरेको छ ।
हाल नेपाल प्रहरीमा एक डिआइजी, नौ एसएसपी, १५ एसपीको तथा ४५ डिएसपीको पद रिक्त छन् ।
महिनौँदेखि रिक्त रहेका पदमा बढुवा नहुँदा एकातर्फ प्रहरीको कामकारबाही प्रभावित भएको छ भने अर्कोतर्फ प्रहरी अधिकारीहरूको करिअरमा समेत असर पुगेको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
