काठमाडौँ — आज बिहीबार घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्वडीआईजी रमेशप्रसाद खरेलको समूह अलग्गिएको छ । अभिव्यक्ति र कार्यशैलीका कारण विवादित ज्ञानेन्द्र शाहीलाई अभियानमा राखिएपछि अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिने भएको हो ।
खरेलले भने, ‘हामी अहिलेका लागि समूहमा रहँदैनौँ। घोषणासभामा हामी उपस्थित हुँदैनौँ।, भएका साथीहरुले कार्यक्रम अगाडि बढाउनुहोला।’
पूर्वनिर्धारित कार्यक्रमबाट अलग्गिएको प्रति सार्वजनिक रुपमै माफी मागेको र भोलिका दिनमा त्यहीअनुसार अघि बढ्ने खरेलले बताए। बिहीबार अपरान्ह काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्ने तयारी थियो। तर आन्तरिक विवाद चुलिएपछि खरेल, सिटौला र यादवको समूह अलग्गिएको हो।
२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए।
