काठमाडौं- आइतबार नेपालगञ्जमा कोरोना संक्रमण पोजेटिभ देखिएकी ७ वर्षीया बालिका नेपालकी सबैभन्दा कान्छी कोरोना संक्रमित हुन्।
उनलाई शुक्रबार संक्रमण देखिएका ६० वर्षीय पुरुषबाट संक्रमण सरेको अनुमान गरिएको छ। बालिका नियमित मदरसामा अध्ययनका लागि जान्थिन्। जहाँ ती पुरुषले अध्यापन गराउने गरेका थिए। सोही सिलसिलामा ती बालिकासहित अन्यमा कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ।
यसअघि जनकपुरमा १४ वर्षीय बालकमा संक्रमण देखिएको थियो। उनको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ। सबैभन्दा बढी ८१ वर्षीय वृद्धामा संक्रमण देखिएको थियो। काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्ने ती वृद्धा निको भएर घर गइसकेकी छिन्।
