काठमाडौँ — नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सुरु भएको छ। नेपाली सेना र पत्रकारबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय तथा परिष्कृत बनाउने उद्देश्यले जङ्गी अड्डामा “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
चार दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको शुभारम्भ आइतबार जनसम्पर्क निर्देशक सहायक रथी राजाराम बस्नेत ले गरे ।
नेपाली सेनाका अनुसार सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषणमा सहजता प्रदान गर्दै सेनाको भूमिका, जिम्मेवारी र गतिविधिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
विभिन्न सञ्चार माध्यममा आबद्ध २९ जना सञ्चारकर्मी सहभागी रहेको कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी, भूमिका तथा मुख्य गतिविधिबारे जानकारीमूलक प्रस्तुतीकरण गरिनेछ। साथै विपद् प्रतिकार्य, सुरक्षा सरोकार र समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन हुने सेनाले जनाइएको छ।

