काठमाडौं – संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
बेलायती सेनाका प्रमुखको निमन्त्रणामा यही असोज १९ गतेदेखि बेलायत भ्रमणमा रहनुभएका प्रधान सेनापति सिग्देलले असोज २० गते बेलायती सेनाका विभिन्न उच्च अधिकारी तथा रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको नेपाली सेनाले जनाएको छ।

भेटवार्ताका क्रममा नेपाल–बेलायतबीचको पारस्परिक हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको थियो। सोही अवसरमा प्रधान सेनापति सिग्देलले गोरखा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर गोर्खा सैनिकप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गर्नुभएको थियो।
यसैबीच, प्रधान सेनापति सिग्देलले आज असोज २१ गते बेलायती सेनाको मुख्यालय भ्रमण गर्नुभएको छ। उहाँले बेलायती सेनाका प्रमुखसँग शिष्टाचार भेटवार्ता गर्नुभएको नेपाली सेनाले जनाएको छ।
भेटका क्रममा दुई देशबीचको आपसी हित, द्विपक्षीय सैनिक सम्बन्ध तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो।
