काठमाडौं – नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’ प्राप्त गरेका छन्। अस्ट्रेलिया र नेपालबीच व्यावसायिक, सामाजिक तथा सार्वजनिक सम्बन्ध विस्तारमा पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
डिजिटल कन्सल्टिङ भेन्चर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रेष्ठले व्यवसायसँगै राजनीतिक तथा सामुदायिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले अस्ट्रेलियामा रहेका नेपाली युवाको क्षमता विकास र उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न पहलसमेत गर्दै आएका छन्।
उक्त पुरस्कारले विश्वव्यापी सम्बन्ध विस्तार, अन्तरसांस्कृतिक समझदारी तथा अन्तर्राष्ट्रिय सहकार्यमा एसीयूका पूर्वविद्यार्थीले पुर्याएको उल्लेखनीय योगदानलाई सम्मान गर्दछ। एसीयूको विश्वभर एक लाख ५५ हजारभन्दा बढी पूर्वविद्यार्थी रहेका छन्।
यस वर्षको पुरस्कार घोषणा गर्दै विश्वविद्यालयका उपकुलपति तथा अध्यक्ष प्राध्यापक ज्लाट्को स्क्रिबिसले प्रतिभा र दृढ संकल्पलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धतासँग जोड्दा के सम्भव हुन्छ भन्ने कुरा आफ्ना पूर्वविद्यार्थीले देखाएको बताएका छन्।
श्रेष्ठको सामुदायिक योगदानको चर्चा अस्ट्रेलियाको सरकारी तहमा समेत हुँदै आएको छ। सन् २०२४ अगस्ट १५ मा अस्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिनले उनलाई क्यानबेरास्थित गभर्नर जनरलको कार्यालयमा स्वागत गरेका थिए।
सन् २०१९ मा श्रेष्ठ अस्ट्रेलियाको संघीय निर्वाचनमा प्रमुख राजनीतिक दलबाट उम्मेदवारी दिने नेपाली मूलका पहिलो व्यक्ति बनेका थिए। तत्कालीन प्रधानमन्त्री स्कट मोरिसनको नेतृत्वमा रहेको लिबरल पार्टीका तर्फबाट उनले निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।
त्यसैगरी, श्रेष्ठ सन् २०२४ मा आयोजित ‘४० अन्डर ४० मोस्ट इन्फ्लुएन्सियल एसियन–अस्ट्रेलियन अवार्ड’ को सामुदायिक तथा पैरवी विधातर्फ अन्तिम प्रतिस्पर्धी (फाइनलिस्ट) बनेका थिए। एसियालिङ्क र जोन्सन पार्टनर्सको पहलमा प्रदान गरिने उक्त पुरस्कारको समारोहमा अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसमेत सहभागी भएकी थिइन्।
श्रेष्ठले सन् २०१६ मा ‘मिस्टर नेपाल ओसिनिया’ को उपाधिसमेत जितेका थिए। उनले अस्ट्रेलिया र नेपालका युवा, उद्यमी, व्यवसायी, सरकारी अधिकारी तथा सामुदायिक नेतृत्वबीच सहकार्य र सम्बन्ध विस्तारका लागि काम गर्दै आएका छन्।
सन् २०२६ मा नेपालमा आएको बाढीका बेला पनि उनले उद्धार तथा राहतका लागि आवश्यक स्रोतसाधन जुटाउन र अस्ट्रेलियामा रहेका नेपाली समुदाय तथा नेपालका प्रभावित परिवारबीच समन्वय गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको उक्त योगदानको कदर गर्दै अस्ट्रेलियाका सिनेटर एन्ड्रयु ब्रागले सेप्टेम्बर ८ मा अस्ट्रेलियाको सिनेटमा उनको नाम उल्लेख गरेका थिए।
त्यस्तै, न्यु साउथ वेल्स राज्यको विधानसभामा सांसद मार्क काउरेले सेप्टेम्बर १५ मा नेपालमा आएको बाढीका क्रममा श्रेष्ठसहित नेपाली समुदायका अगुवाहरूले गरेको सहयोग र समन्वयको प्रशंसा गरेका थिए।
सन् २०१५ मा एसीयूबाट वाणिज्यशास्त्रमा स्नातक गरेका श्रेष्ठले विश्वविद्यालयका प्राध्यापक तथा करियरसम्बन्धी टोलीले आफ्नो क्षमता पहिचान गर्न र भविष्यको बाटो तय गर्न सहयोग गरेको बताएका छन्।
एसीयूको ‘इम्प्याक्ट’ प्रकाशनसँगको कुराकानीमा उनले भनेका छन्, “मैले आफैँमाथि विश्वास गर्नुअघि नै उनीहरूले ममाथि विश्वास गरेका थिए।”
