काठमाडौँ – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार कार्कीलाई तत्काल पूर्ववत् पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो ।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफूलाई पुनः आईजीपी पदमा बहाली गर्न तथा नयाँ नियुक्त भएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए ।
यसअघि मङ्सिर ८ गतेका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । प्रहरी महानिरीक्षक केसीलाई अदालतको म्याद तामेल नभएको भन्दै नेपाल प्रहरीका तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले नयाँ म्याद जारी गर्न माग गरेका थिए ।
त्यसपछि अदालतले प्रहरी प्रधान कार्यालयका प्रतिनिधिमार्फत केसीलाई म्याद बुझाउन र अर्को पेसीमा मन्त्रिपरिषद्को निर्णयसहितका सक्कल कागजात पेस गर्न आदेश दिएको थियो ।
त्यस्तै, अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत उपस्थित भएर सरकारको धारणा स्पष्ट पार्न भनेको थियो ।
