काठमाडौं- भारत हुँदै नेपालको तराईको जिल्लाबाट सलह कीरा प्रवेश गरेको छ । शनिबार सर्लाही, बारा, रौतहट, रुपन्देही, पर्सा, सिन्धुली लगायतको जिल्लामा सलह कीरा देखिएको पुष्टि भएको छ ।
सलह नेपालमा प्रवेश गरेसँगै किसान त्रसित बनेका छन् ।
यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो ।
के हो नेपाल प्रवेश गरेको सलह किरा ?
फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ । सलहले दुई सातामा अन्डाबाट करिब सयको संख्यामा बच्चा उत्पादन गर्ने भएकाले यसको संख्या विस्तार छिटो हुन्छ । बच्चा १ देखि ३ महिनामा ६ पटकसम्म काँचुली फेरेपछि वयस्क हुन्छ । वयस्क सलह ४ देखि ५ महिनासम्म बाँच्छ । सलहले वयस्क भएपछि लामो समयसम्म हावामा उड्न र ४ देखि ५ हजार किमि १० दिनमै तय गर्न सक्छ ।
हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ ।
नियन्त्रणका उपाय
रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन् । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल/जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ ।
विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ ।
तर, एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने जानकारहरू बताउँछन् । यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउने लगायतका सावधानी अपनाउनुपर्ने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
