काठमाडौँ- अब मास्क नलगाइकन घर बाहिर निस्किए प्रहरीले कारबाही गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको भन्दै गृहमन्त्रालयले यस्तो निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको छ । अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने उनको भनाइ छ ।
मन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको हो । अब मास्क नलगाई हिंड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ। संक्रमणको जोखिम निकै वढेपनि सर्वसाधारणहरुले मास्कसम्म नलगाई लापरवाही गरिरहेकाले यस्तो निर्णय गर्नु परेको गृहमन्त्रालयको भनाइ छ। त्यस्तै मन्त्रालयलले अनावश्यक रुपमा घरबाहिर ननिस्कन समेत अनुरोध गरेको छ।
