लगातारको वर्षासँगै आएको पहिरोमा परी विभिन्न स्थानमा ७ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् भने १२ जना घाईते भएका छन् । लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेसीसहर नगरपालिका वडा नं ७ सातबीसेमा गएराति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । पहिरोमा परी तीन जना घाइते भएका लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले जानकारी दिए ।
यस्तै पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । गएराति पोखरा महानगरपालिका वडा नं १८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
त्यसैगरी पोखरा महानगरपालिका वडा नं २५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै पोखरा १८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।
अविरल वर्षापछि पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । स्थानीयवासीलाई राति नै सुरक्षित स्थानमा सारिएको छ । उता म्याग्दीको धौलागिरि गाउँपालिका वडगा नं ६ मराङको रिखामा आज बिहान गएको पहिरोमा परी सात जना बेपत्ता भएका छन् ।
यता सिन्धुपाल्चोक बाह्रबिसेको पहिरोमा परी बेपत्ता भएका २० जना अझै अज्ञात रहेको छ । स्थानीयबाट प्राप्त सूचीअनुसार २० जना अझै बेपत्ता रहेका सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनीहरूको खोजी जारी रहेको तर वर्षा बढीरहेकाले कठिन भइरहेको उहाँले जानकारी दिनुभयो । बाढी तथा पहिरोले बाह्रबिसेका विभिन्न वडामा गरी ३६ घर नष्ट भएको उहाँको भनाई छ ।
