काठमाडौं – नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपि)को ३८ औं स्मृति दिवस आज मनाइँदैछ । बीपि स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस र उसका भातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बीपि संग्रहालय सुन्दरीजल क्षेत्रमा वृक्षारोपण कार्यक्रम राखेको छ । विभिन्न जिल्लामा पनि काँग्रेस तथा यसका भातृ संगठनले विभिन्न कार्यक्रम गरी बीपिलाई सम्झदैछन् । कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गरेका थिए।
