धमिन महर्जन
काठमाडौँ – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गराईएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराईएको हो ।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भएपनि यो वर्ष कोभिड—१९ का कारण केही समय ढिला भएको हो । रातो मच्छिन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले वैशाख १२ गते रथारोहण गर्नुपर्ने भए पनि कोरोनाका कारण यो वर्ष सम्भव नभएको बताए ।

असार २४ गते साइत हेरेर रथारोहण गराउने यसअघि निर्णय भएपनि कोभिड—१९ संक्रमणको जोखिम कम नभएका कारण अनिश्चित बनेको थियो । लिच्छविकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत शनिबार परेकाले आज नै रथारोहण गरिएको उनले बताए । रथारोहण गरिएपनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको उनको भनाइ छ । जात्रामा २० जनाभन्दा बढीलाई सहभागी नगराइने निर्णय भएपनि उल्लेख्य सहभागिता रहेको थियो ।
यो काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो। वैशाख कृष्णपक्षको प्रतिपदाबाट सुरू हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ।




