डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउपालिका –४ की १५ वर्षीय किशोरी बलात्कृत भएकी छिन् । मानसिक अवस्था सुस्त रहेकी किशोरीलाई चाउचाउ र चुईगम दिएर गत फागुनदेखि नै वाजे र काका नाता पर्ने दुई जना आफन्तले निरन्तर बलात्कार गर्दै आएको खुल्न आएको छ ।
उनलाई सोही ठाउँका अन्दाजी ५२ वर्षीय डम्बरसिँह साउद र ४५ वर्षीय भोजबहादुर साउदले बलात्कार गरेको आफन्तले गरेको उजुरीका आधारमा प्रहरीले जनाएको छ । किशोरीकोे पेटमा गर्भ समेत रहेको परिवार स्रोतले खुलाएका छन् । दिउँसो गाईबाख्रा चराउन गएको समयमा आरोपित दुवै जनाले कहिले चाउचाउ त कहिले चुईगम दिएर निरन्तर बलात्कार गर्ने गरेको पिडित पक्षको भनाई छ ।
किशोरीको महिनावारी रोकिएको र किशोरीको स्वास्थ्यमा समस्या देखापर्न थालेपछि उनको स्वास्थ्य चेकजाँच गराउदा ४ महिनाको गर्भ रहेको खुल्न आएको छ । नातामा आफन्त पर्ने दुवैले बलात्कार गरेको कुरा कसैलाई भने ज्यान मार्ने धम्की दिएकोले कसैलाई नभनेको पिडीतको भनाई छ । डरत्रासमा पटकपटक बलात्कृत बालिकाको स्वास्थ्य अवस्था र महिनावारि समेत रोकिएको कुरा आमाले थाहा पाएपछि छोरी बलात्कार भएको कुरा खुलेको हो ।
आरोपित दुवै जना विरुद्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा पिडित किशोरीका आफन्तले उजुरी दर्ता गराएका थिए । अहिले प्रहरीले आरोपितहरु मध्ये एक जनालाई सोही दिन र अर्कालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्र बहादुर बोहराले बताए ।
दुवै जना किशोरीका नाता पर्ने हुन । पिडित किशोरीका एक जना हजुरबुवा एक जना काका नाता पर्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक बोहराले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीे जनाएको छ ।
