काठमाडौँ- भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान कार्यकक्षमै कुटपिट भएको छ ।
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेका हुन्। उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ।
दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ। दुवै जना कार्यालयका करारका कर्मचारी हुन्। एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।
कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको प्रहरीले जनाएको छ। श्रम कार्यालय स्रोतकाअनुसार काम नगरेको भन्दै सञ्जेलले करारका नायव सुब्बा निर्मलकुमार दाहाललाई शुक्रबार कामबाट निकालिदिएका थिए।
महिला कर्मचारीलाई २४ घण्टानै ड्युटीमा लगाएको भन्दै कार्यालय सहायक सञ्जेलसँग आक्रोशित बनेको एक कर्मचारीले बताए। ‘बहिनी ज्वाईंलाई कामबाट निकालिदिएको र आफूलाई पनि २४ घण्टा नै ड्युटीमा लगाएपछि सञ्जेलसँग निरौला आक्रोसित बनेकी थिइन्,’ उनले भने, ‘त्यही रिस फेर्न अर्की कार्यालय सहायकसँग सहयोग लिएर कार्यकक्षभित्रै प्रमुखमाथि आक्रमण गरियो।’
कुटपिटमा संलग्न दुवै जना शनिबार बिहान १० बजेतिर कार्यालयमा आइपुगेका थिए। केही बेरमा चालक निरज भट्टराईले गाडीमा सञ्जेललाई पनि लिएर कार्यालयमा आइपुगे। सञ्जेल सबै सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्ने गर्छन्। प्रत्येक दिन राति ८/९ बजेसम्म कार्यालयकै काममा व्यस्त हुन्छन्।
कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ।
सरकारी कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीविरूद्ध संघर्षरत उपसचिव सञ्जेलललाई २०७५ असोज ११ गते उक्त कार्यालयको प्रमुखका रुपमा पठाइएको थियो।
