काठमाडौं – नयाँ जनै पहिरिएर र रक्षा बन्धन अर्थात् नाडीमा डोरो बाँधेर सोमबार जनै पूर्णिमा मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णीमाका दिन जनै पूर्णिमा मनाउने गरिन्छ । यो पर्वलाई रक्षा बन्धन वा ऋषी तर्पणी पनि भन्ने गरिन्छ ।
पूर्णिमाका दिनमा नयाँ जनै लगाउने तागाधारीहरुले विहानै उठी नुहाइ धुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्त ऋषिलाई तर्पण गरी जल चढाइ गराइएको जनैलाई धारण गर्ने परम्परा छ ।
जनै लगाउने तागाधारीहरुले गोवर, माटो, कुस लगाएर पवित्र जलासयमा गएर स्नान गरी दतिवन वा अपमार्गले दाँत माँझ्ने र पन्चगब्य खाएर नयाँ जनै फेर्ने चलन रहेको संस्कृतिविदहरु बताउँछन् । पूर्णिमाका दिन सप्तऋषिलाई तर्पण दिने गरिएकाले यसलाई ऋषी तर्पणी पनि भन्ने गरिएको हो ।
पूर्णिमाका दिन पुरोहितहरूले जजमानहरूको हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धागो बाध्नाले शरिरको रक्षा हुने विश्वास रहि आएको छ ।
भविष्यपुराणका अनुसार महारानी शचीले वैदिक मन्त्रद्वारा अभिमन्त्रित एक सूत्र धागो आफ्ना पति देवराज इन्द्रको हातमा बाँधेर आफ्ना तमाम शत्रुदेखि श्रावणशुक्ल पूर्णिमाकै दिन अभयदान दिएकीले त्यसकै संझनामा रक्षाबन्धन बाँध्ने चलन चलेको धार्मिक विश्वास छ ।
पुरोहितद्वारा रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने परम्परा रहेको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भत्रे पौराणिक कथनबाट रक्षा बन्धन चलेको धार्मीक विश्वास छ ।
यस पर्वमा गोसाइँकुण्ड, दूधकुण्ड, हलेसी, धनुषसागर, मणिचूडदह, पाटनको कुम्भेश्वर आदि धार्मिक स्थलमा मेला लाग्ने गर्छ । जनै पूर्णीमालाई नेवारी समुदायमा गुंपुन्हि वा क्वाँटी नखः पनि भन्ने गरिन्छ । गुँपुन्हिकै दिन नेवार समूदायले ब्याँ जा नकिगु अर्थात भ्यागुतालाई भात खुवाउने दिनको रुपमा पनि लिन्छन् ।
त्यस्तै आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ ।
