काठमाडौं – सुनको भाउ एकैदिन ६ हजार २०० रुपैयाँले घटेको छ । मंगलबार १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार छापावाला सुनको मूल्य प्रतितोला बुधबार एकैदिनको अन्तरमा ६ हजार २०० रुपैयाँले घटेर ९५ हजार ४०० रुपैयाँ कायम भएको हो ।
बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ७० डलर पुगेको सुनको मूल्य बुधबार प्रतिऔस १ हजार ८७५ डलरमा झरेको छ । बुधबार मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ५० डलरले घटेको हो ।
कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मूल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ।
