काठमाडौं- आज दिउँसो गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । विभागले प्रदेश–१, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
भोलिदेखि पानी कम पर्ने मौसमविद्ले बताएका छन् । दिउँसो धेरै ठाउँमा चर्को घाम लागे पनि केही ठाउँमा भने पानी पर्ने सम्भावना छ । तर मनसुन चलिरहेकाले बेलुकादेखि बिहानसम्म केही ठाउँमा पानी पर्ने छ ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
