काठमाडौँ- भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। धोनीले इन्स्टाग्राममा पोस्ट गर्दै आफूले संन्यास लिने निर्णय गरेको बताएका हुन्।
यसअघि टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका विकेटकिपर ब्याट्सम्यान धोनीले अब एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रिय खेल पनि खेल्नेछैनन्।
धोनीले आइपिएल भने खेल्नेछन्। चेन्नइ सुपरकिंग्सका कप्तान धोनी पछिल्लो समय आइपिएलको तयारीमा छन्।
भारतीय क्रिकेट टिमका सफल कप्तान धोनीले भारतलाई सन् २००७ को टी-२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जिताउँदा नेतृत्व गरेका थिए। उनले टेस्टमा पनि भारतलाई उत्कृष्ट टिम बनाएका थिए। धोनी आईसीसीको सबै ट्रफी जित्ने विश्वकै एक मात्र कप्तान हुन्।
३९ वर्ष ३९ दिन उमेरका धोनीले भारतको लागि ९० टेस्ट, ३५० एकदिवसीय र ९८ टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए। यस क्रममा उनले टेस्टमा ६ शतक र ३३ अर्धशतक मद्दतले ४,८७६ रन , एकदिवसीयमा १० शतक र ७३ अर्धशतक मद्दतले १०,७७३ रन तथा टि-२० मा २ अर्धशतक मद्दतले १६१७ रन बनाएका थिए।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६८ खेलमा धोनीले अविजित रहँदै खेल जिताएका थिए जुन विश्वरेकर्ड हो।
उनले पछिल्लो एकदिवसीय खेल २०१९ विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। टी–२० मा भने धोनीले पछिल्लो पटक २०१९ फेब्रुअरी अस्ट्रेलियाविरुद्ध खेलेका थिए।
विश्वकपबाट फर्किएपछि धोनी राष्ट्रिय टिमबाट छुट्टी लिएर भारतीय सेनाको ड्युटीमा खटिएका थिए।
