- डम्बर निदाल
डडेल्धुरा – सुदूरपश्चिमको एकताको प्रतिक तथा सांँस्कृतिक र लोकप्रिय पर्व गौरापर्व अर्थात बिरुडा पञ्चमी आईतवारदेखि बिधिवत रुपमा शुरु भएको छ । पञ्चमी तिथिको दिन बिहानैदेखि घर लिपपोत गरि साँझपख घरमा पञ्च दलहन गेडागुडी अथवा बिरुडा बिधिवत रुपमा भिजाई गौरा पर्व प्रारम्भ भएको मान्ने परम्परा रहि आएको छ । पञ्चदलहन गहत, मास, केराउ, कलाउँ र चना मिसाएर तामाको भाँडोमा टिका दुबो लगाई गाउँघरमा सामूहिक रुपमा घरघरमा गौरा माताको प्रसादको रुपमा रहेको बिरुडा राखिन्छ भने भोली पल्ट नजिकको जलाशय पानी पधेँरोमा गएर धोई पखाली घरमा ल्याउने प्रचलन रहेको छ ।
बैदिककालमा हैहयबंशीका शुरबीरहरुको अत्याचारबाट भृगुबंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आराधनाको प्रभाबले संकट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्व महिलाहरुले शुद्धखानपान , चोखो नयां लुगा लगाई अत्यन्त भक्तिभावले पंचमीका दिन बिधिवत रुपमा प्रसाद राखिएको पांच दलहनको बिरुडा धुने , पांच पवित्र घांसबाट निर्मित गौरामाताको प्रतिकलाई भक्तिभाव र उपवासका साथ नियमित पूजा गरि धुमधामका साथ मनाउछन ।
पञ्चघाँस काँसकुश अपामार्ग, वल, तिल पहेंलो गुबोलाई गौरा माताको प्रतिकको रुपमा भित्र्याउदै गौरा माताको प्रसाद तथा गौरामहेश्वरको पूजाको अक्षताको रुपमा शाश्त्रिय पूजा अनुष्ठान गरि हिन्दु महिलाहरुले भव्य रुपमा मनाउने चलन रहि आएको छ ।
सुदूरपश्चिमका जनता र विशेष गरि महिलाहरुका लागि जीवनशैलीसंग गांसिएको नारीहरुको महत्वपूर्ण महानचाड गौरापर्वमा भगवान शिब लाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरि भाद्र शुक्ल पंचमी देखि दुर्वाष्ठमी तथा बिसर्जन नहुँदा सम्म एक हप्ता भव्यताका साथ मनाईन्छ । यस पर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि बिशेष गरि मनाईन्छ ।
आध्यात्मिक र भौतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको सुदूरपश्चिमबासीको सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परा देखि चलीआएका फाग ,अठवाली ,पुरुषहरुको चैत धुमारी का साथै डेउडा खेलेर धुमधामका साथ मनाईने परम्परा रहि आएको छ । तर सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्व आजदेखि सुरु भएपनि गाउँघरमा भने रौनक छाएको छैन् । यो वर्ष कोरोनाका कारण चाडपर्वहरू सामुहिक रूपमा नमाउन र आ–आफ्नै घरमा मनाउन सरकारले आग्रह गरेको कारण गौराको रौनक छाउन सकेको छैन् । पारिवारिक मिलन, सामाजिक सद्भाव र एकअर्कासंग भेटभाट गर्ने पर्वको रुपमा गौरा मनाइने भएपनि कोरोना कहरले यो बर्ष गौराको उत्साह नभएको स्थानीय बताउँछन् ।
