डम्बर निदाल, डडेल्धुरा – कोरोना संक्रमित बिरामीको उपचारका लागि २० बेडको आइसोलेसन कक्षसहितको अस्पताल निर्माण गर्न लागिएको छ । भागेश्वर गाउँपालिका वडा नं ४ मा अस्पताल निर्माण कार्य सुरु भएको हो ।
उपभोक्ता समिति मार्फत करिब २० लाखको लगानीमा आइसोलेसन भवनको निर्माण कार्य शुरु गरिएको भागेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हर्ष रोकाले जानकारी दिए ।
डडेल्धुरा जिल्लामा आईसोलेसन कक्ष निर्माण गर्ने र उपभोक्ता समितिमार्फत आईसोलेशन निर्माण कार्य अगाडी बढाउने डडेल्धुरा जिल्लाको पहिलो स्थानिय तह भागेश्वर गाउँपालिका रहको छ ।
अस्पताल निर्माणबाट कोरोना महामारीका कारण बेरोजगार भएका युवा तथा स्थानियलाई रोजगारसमेत प्राप्त हुने भागेश्वर गाउँपालिका वडा नं— ३ का अध्यक्ष राम बहादुर शाहीले बताए । डडेल्धुरामा पहिलो पटक आइसोलसन वार्डसहितको अस्पताल निर्माण हुन लागेको हो ।
एक स्थानिय तह एक आईसोलेसन केन्द्र निर्माण गर्नु पर्ने नेपाल सरकारको प्रावधान छ । सरकारको प्रावधान अनुसार गाउँपालिकाको आर्थिक सहयोग र स्थानिय वासीन्दाको जनश्रमदानमा आईसोलेसन केन्द्र स्थापना निर्माण सुरु गरिएको छ ।
करिव २० लाख रुपैयाँको लागतमा आईसोलेसन केन्द्र निर्माण भईरहेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला भट्टले बताईन । आइसोलेसन वार्डको निर्माण कार्य भदौ महिना भित्रै सम्पन्न गर्ने गरी काम भईरहेको छ ।
आईसोलेसन केन्द्रमा महिला पुरुषका लागि छुट्टा छुट्टै कोठा बनाईदै छन । आईसोलेसन वार्ड भनिए पनि विरामी नभएका समयमा क्वारेन्टीनमा पनि प्रयोग गरिने गाउँपालिका अध्यक्ष भट्टले बताईन ।
आईसोलन केन्द्र निर्माण भए पछि भारत बाट आएकाहरुलाई क्वारेन्टीनका रुपमा विद्यालयमा राख्नु पर्ने वाध्यताको अन्त्य हुने गाउँपालिकाले जनाएको छ ।
हाल कोरोना संक्रमितहरु विद्यालय भवन तथा होम क्वारेन्टाइनमा बस्दै आएका छन । आइसोलेसन कक्षको निर्माणपछि संक्रमितको उपचारमा सहज हुने भागेश्वर गाउँपालिका अध्यक्ष भट्टले बताइन् ।