काठमाडौं – ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको हो ।
कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा हिजो रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो ।
स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो । निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए । शान्तिसुरक्षा र चमनचयन कायम राख्न कर्फ्यु जारी गरिएको जिप्रकाले जनाएको छ ।
मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेको बताइएको छ। असोज २ देखि मलमास सुरु हुँदैछ। कोरोना महामारीका कारण निर्धारित तिथिमा हुन नसकेको रथ जबरजस्ती तानिएको हो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा मिचेका हुन्।
लकडाउन खुकुलो भएपनि उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित गरेको थियो। कोरोनाका कारण उपत्यकामा धार्मिक गतिविधि तथा जमघटमा रोक लगाइएको छ।

