काठमाडौँ – काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीरूले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरूले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरूको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन्।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए। उनले चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए।
अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरू आवतजावत भइराखेकाले त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको दाहालले बताए।
अनाववश्क मान्छे हिँडडुल गर्ने कुराका लागि सीमामा कडाइ गर्नुपर्ने उनले बताए। ‘सीमामा कडाइ गर्ने कुरामा नेपाली सेनालाई नै खटाउनु पर्छ। नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राखिदिउँ न के फरक पर्छ र भनेर डिसिसिएमसीबाट निणर्य गरेर माथि पठाइयो तर सिसिएमसीमा त्यो कुराको सुनुवाइ नभएको हो कि,’ दाहालले भने।
दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभइ प्रहरीले धेरै काम गर्नुपर्दा नभ्याएको हुनाले सीमा नाकाको निगरानी कमजोर भएको बताए। सडकका जँड्याहालाई उठाउनेदेखि सुन चोरसम्मलाई पक्राउ गर्ने काममा प्रहरीलाई भ्याइनभ्याइ भएकाले सिमानामा नेपाली सेनालाई नै खाटाउनुपर्ने उनले बताए।
