काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ। उनको कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन।
प्राधिकरणका कर्मचारीले उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन्। २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए।
चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उनलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए। कुलमान दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि छ।
घिसिङको पदावधि आज सकिने भए पनि उनलाई दोहोर्याउने विषयमा ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पुर्याइसकेको छैन । मन्त्रालयले हालसम्म कुनै प्रस्ताव भने गरिसकेको छैन् । मन्त्रालयले प्रस्ताव गरी नसकेको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले बताए । मन्त्रालयले प्रस्ताव नगरिसकेको भए पनि लामो समयसम्म उक्त पद खाली भने नराख्ने उनले बताए ।
सरकारले कुलमानलाई नदोहोर्याउने इच्छा गरेपनि जनस्तरबाट दोहोर्याउन दबाव छ। दवावका कारण कुलमान दोहोरिने सम्भावना पनि छ।
पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउन विभिन्न क्षेत्रबाट माग भएको छ।