काठमाडौँ – आज (सोमबार) पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले कम्तीमा आगामी २४ घण्टासम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ।
सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ–
‘प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, वाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।