डम्बर निदाल
डडेल्धुरा – कोरोना भाइरसको प्रभावका कारण डडेल्धुराका ब्यापार व्यवसायहरु संकटमा परेका छन ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि एक सय २० दिनसम्म गरिएको लकडाउन र त्यसपछि जारी भएको निषेधाज्ञाका कारण बिभिन्न व्यवसाय धरासायी हुँदै गएको हो ।
खुद्रा किराना, औषधि पसल लगायत दैनिक उपभोग्य बस्तुका पसलहरु बाहेक अन्य बिभिन्न ब्यवसाय गर्दै आएका ब्यापारीहरुलाई आफनो ब्यवसाय नियमित रुपमा संचालन गर्न नपाउँदा आफनो ब्यवसाय गरी गुजरा चलाउदै आएका ब्यापारीहरु लाई घरभाडा समेत तिर्न नसकेकाले निकै समस्या भएको व्यवसायीको भनाई छ ।
लामो समय देखी बन्द रहेका होटल एक दिन पनि संचालन गर्न नपाएको अझै कति दिन बन्द गरीने कुनै टुङ्गो नभएकोले होटल ब्यावसायी हरु लाई कर्मचारीको तलब लगायत घरभाडा देखी बैंकको ब्याज तिर्न नसक्दा सकस भएको होटल व्यवसायी संघ डडेल्धुराका अध्यक्ष दान बहादुर भण्डारीले बताए ।
कोरोना भाईरसका कारण व्यवसाय तथा रोजगारीका संभावनाहरु धरासयी भए सँगै डडेल्धुराका होटलहरु पनि प्राय ठप्प रहेका छन भने सार्वजनिक यातायातका सवारी साधनहरु पनि कोरोना माहामारीको सन्त्रासले ६ महिना देखि थन्किदा आर्थिक भारमा परेको र मजदुर लाई तलब दिन नसकिएको साथै ऋणको ब्याज समेत तिर्न नसकेको उग्रतारा सार्वजनिक यातायात प्राली डडेल्धुराका अध्यक्ष मान बहादुर साउदको भनाई छ । राज्यले आफना मागकोे सुनवाई नगरेको उनको दुखेसो छ ।
६ महिनादेखि बन्द होटल व्यवस्थित रुपमा खोल्न र घाटा व्यहोर्न बाध्य व्यवसायिलाई राहत दिने कुनै योजना सरकारले दिन नसकेकोमा दुखेसो पोख्दै यस्तै अवस्था रहे होटल व्यवसायबाट पलायन हुने संभावना बढेको व्यवसायी बताउँछन ।
सुदूरपश्चिम प्रदेशको धनगढी पछिको प्रमुख ब्यापारिक केन्द्र रहेको डडेल्धुरा जिल्लामा जारी निषेधाज्ञा केही खुकुलो भएपनि पछिल्लो समयमा निकै तिब्र रुपमा फैलिरहेको कोरोना महामारीका कारण पसल खोल्नु र बन्द हुनुमा भिन्नता नभएको ब्यापारीहरुको भनाई छ । यस्तो अवस्थामा स्वरोजगार संरक्षण गर्ने कार्यक्रम राज्यले दिनु पर्ने तर्फ ध्यान दिनु आवश्यक देखिएको छ ।
