काठमाडौं – हरेक वर्ष डीभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरू धेरै छन्। तर यही समाजका एक युवा डीभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न कसरी नेपाली सेनामा भर्ती हुन्छ भन्ने कथा बोकेको लघु–चलचित्र ‘रगत’ सार्वजनिक भएको छ।
पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको रगत नेपाली सेनाले आयोजना गरेको लघु–चलचित्र प्रतियोगिता–२०७६ मा दोस्रो भएको थियो। रगतमा नेपाली सेनाको महत्व र देशभक्ति देखाइएको छ।
रवि कार्की, मुना नेपाल, संगीता बस्याल, डीबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको यो चलचित्र संकल भुजेलले खिचेका हुन्। कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन रहेको छ। विक्रम कार्कीले पाश्र्व संगीत भरेका छन्।
नेपाली सेनाले गरेको काम र नेपाली सेनाप्रति आमनागरिकको सकारात्मक सोच विकास गर्न डीभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आपूmले रोजेको निर्देशक बस्नेतले बताए। उनले यसअघि लकडाउनका बेलामा कसैसँग नभेटेरै ‘बुहारी’ र ‘मे वान’ नामका दुई लघु–चलचित्र बनाएका थिए।
लघु–चलचित्र ‘रगत’ पुकार टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।