काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: चार वर्षे कार्यकालका लागि प्रस्ताव गरेको जानकारी दिएको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको उनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले जानकारी दिए।
‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ’, चापागाईंले भनेका छन्, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु।’
मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको चापागाईंले स्पष्ट पारे।
गत २९ भदौमा कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकाएका घिसिङको प्राधिकरणले ३१ भदौमा औपचारिक बिदाई गरेको थियो।