डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्ला अन्तरगत भिमदत्त राज मार्गमा मोड सुधार गर्न लागिएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला सहित तराईका दुई जिल्ला जोड्ने मुख्य राजमार्गका रुपमा रहेको भिमदत्त राजमार्गमा दुर्घटना न्यूनिकरण गर्न यस सडक खण्डको जोखिम भएको स्थानमा मोड सुधार गर्न थालिएको हो ।
दैनिक जसो भिमदत्त राजमार्गमा यातायातका सवारी साधनको चाप बढ्ने गरेको छ । सवारी चाप बढे संगै घुम्तीमा दुर्घटनाको जोखिम उच्च भए पछि मोड सुधार गरिन थालिएको हो । मोड सुधार भए संगै दुर्घटनाको जोखिम कम हुने विश्वास लिइएको छ ।
राजमार्ग अन्र्तगत डडेल्धुराको हगुल्टेलेक देखी जिल्ला सदरमुकाम सम्म मोड सुधार गर्न थालिएको छ । करिव ३० किलोमिटर क्षेत्रमा दुर्घटनाको जोखिम रहेको स्थानमा मोड सुधार लागि तिन भागमा विभाजन गरेर बोलपत्र आह्वान गरी काम शुरु गरिएको छ । मोड भएका ठाँउमा सडक चौडा गर्ने काम भईरहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका सूचना अधिकारी इन्जिनियर बिरेन्द्र चन्दले जानकारी दिए ।
संघीय सरकारको करिव तिन करोड रुपैयाको लागतमा सडक मोड सुधार गर्ने काम तथा सदरमुकाम बसपार्क नजिक ग्याभिङवाल लगाउने काम भइरहेकोे छ । सडक साँघुरो हुनुका साथै विपरित दिशा बाट आउने यातायातका सवारी साधन नदेखिदा यी क्षेत्रमा बर्षेनि दुर्घटना हुने गरेका छन ।
दुर्घटनाको जोखिम रहेका स्थानको घुम्तीमा सडक चौडा भए पछि यातायात संचालनमा सहज हुने छ । साथै विपरित दिशा बाट आउने यातायातका सवारी साधन सहजै देखिने भए पछि दुर्घटनाको जोखिम कम हुने चालकहरुको भनाई छ ।
घुम्तीकै कारण यस राजमार्गमा बर्षेनि यातायातका सवारी साधन दुर्घटना हुने गरेका छन । भिमदत्त राजमार्गमा साना ठुला गरि दैनिक हजार भन्दा बढी संख्यामा यातायातका सवारी साधन संचालन हुने गरेका छन ।
