काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई मनास्लु वर्ल्ड कलेजले ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । सोमवार मनास्लु कलेजले एक कार्यक्रमको आयोजना गरी सागरलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो। कार्यक्रममा मनास्लुका अध्यक्ष गेन्द्र लामा र पूर्व कप्तान थापाले १ वर्षका लागि द्धिपक्ष सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा सागरले आफूलाई यति ठूलो सम्मान दिएको भन्दै खेलकुद क्षेत्रमा मनास्लु कलेजले चालेको यो पाईलाप्रति धन्यबाद दिएका थिए। साथै सागरले कलेजले आफूलाई दिएको जिम्मेबारीप्रति प्रतिबद्ध हुँदै अगाडि बढने बताए।
कार्यक्रममा कलेजका अध्यक्ष गेन्द्र लामाले राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापालाई कलेजको ब्रान्ड एम्बेस्डर बनाउन पाएकामा खुशी ब्यक्त गरे । उनले मनास्लु कलेज शिक्षा मात्र नभएर खेलकुद क्षेत्रमा पनि योगदान गर्ने उद्देश्यले अगाडि बढेको र अगामी दिनमा कलेजले खेलकुद क्षेत्रमा बिभिन्न खेलाडीहरु उत्पादन गर्ने लक्ष्य राखेको बताए।
त्यस्तै मनास्लु वर्ल्ड कलेज विशुद्ध शैक्षिक व्यक्तिहरुको समुहले शिक्षा क्षेत्रमा केही गरौँ भनेर शिक्षामा नयाँ आयाम दिने उद्देश्यका साथ स्थापना भएको लामाले बताए । निजी शिक्षण संस्थालाई लाग्ने आरोप बारे उल्लेख गर्दै हाम्रो उत्पादन बोइलर हैन लोकल बन्ने प्रतिवद्धता व्यक्त गरे ।
यसअघि कलेजले नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई प्लस टू अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको थियो। काठमाडौंको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो।