काठमाडौं – दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यबृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने सांसदहरुले बताएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मूल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् ।
सांसद देवेन्द्र पौडेलले बजार मुल्यमा समानता नभएको, अस्वभाविक रुपमा मूल्य बढेकोले नियन्त्रण गर्नुपर्ने बताए। नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिनु पर्ने उनले बताए।
सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मुल्यबृद्धि भइरहेको बताए । मूल्यबृद्धि गर्नेलाई कडा कारवाही गर्नुपर्ने उनले बताए । अस्वभाविक रुपमा मूल्यबृद्धि गर्नेलाई सार्वजनिक गर्नुपर्ने समेत उनको भनाई थियो
समिति सभापति विमलप्रसाद श्रीवास्तवले मूल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्णय भएको बताए ।