डम्बर निदाल
डडेल्धुरा – गन्यापधुरा गाउँपालिकाले डडेल्धुरा अस्पताल लाई १० लाखको चेक हस्तान्तरण गरेको छ ।
डडेल्धुरा अस्पतालमा संचालन भएको पिसिआर ल्याब संचालन तथा संकट समाधानका लागि गन्यापधुरा गाउँपालिकाले अस्पताललाई १० लाखको चेक हस्तान्तरण गरेको हो ।
सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाको केन्द्र विन्दुमा रहेको डडेल्धुरा अस्पतालमा कोरोना परिक्षण ल्याब स्थापना भई पिसिआर परिक्षण भईरहेको छ । कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्धेश्यले स्थापना गरीएकोे कोरोना परिक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्न र आवश्यक जनशक्ति ब्यवस्थापन गर्नका लागि गन्यापधुरा गाउँपालिकाले अस्पताललाई १० लाख रुपैया सहायता गरेको गन्यापधुरा गाउँपालिका प्रमुख नबल मल्लले बताएका छन् ।

कोरोनाको महामारी शुरु भएसंगै डडेल्धुराका स्थानिय तहहरुले डडेल्धुरा अस्पतालमा कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्ने र उक्त प्रयोगशाला संचालनका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए, सोही प्रतिवद्धता अनुसार अस्पताललाई १० लाख सहयोग गरेको गन्यापधुरा गाउँपालिकाले जनाएको छ ।
डडेल्धुरामा कोरोना परिक्षण ल्याब संचालनमा आएपछि डडेल्धुरा लगायत सुदुरपश्चिमका अन्य जिल्लाहरुको पिसिआर परिक्षण हुदै आएको र पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरुमा पनि सुधार हुदै आएको र अझै डडेल्धुरा अस्पतालको अन्य गुणस्तर सुधारका लागि स्थानिय तहबाट भएको आर्थिक तथा भौतिक सहयोगले थप उर्जा प्राप्त भएको छ र अझै अरु स्थानिय तहहरु वाट पनि सहयोगको आशा रहेको साथै स्थानिय तहहरुसंग सधै समन्वय र सहकार्य गरेर अगाडी बढ्ने अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।
जनस्तर बाट चन्दा संकलन गरि डडेल्धुरा अस्पतालमा गत असार १८ गते पिसिआर जाँच गर्ने मेसिन जडान गरिएको थियो । कोरोना परिक्षण प्रयोगशालालाई व्यवस्थापन र आवश्यक जनशक्तिको ब्यवस्थापन गर्न यहाँका सात वटै स्थानिय तहहरुले रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । यसअघि अमरगढी नगरपालिकाले २० लाख र नवदुर्गा गाउँपालिकाले डडेल्धुरा अस्पताललाई १० लाख रकम उपलब्ध गराएका थिए ।
