काठमाडौं – सरकारले मदिराको आयात खुला गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिषरिषद् बैठकले यस्तो निर्णय गरेको हो। करिब ७ महिनायता रोकिएको रक्सीको आयात खुला गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
मदिरा तथा मदिराका कच्चा पदार्थ गरी वार्षिक ५ अर्ब रूपैयाँभन्दा धेरैको आयात हुने गरेको छ। त्यसबाट सरकारले मासिक ५० करोड रूपैयाँको हाराहारीमा राजस्व संकलन गर्ने गरेको थियो।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेसँगै सरकारले विदेशी मुद्राको सञ्चिति कम हुने भन्दै सरकारले ५० हजार अमेरिकी डलरभन्दा महँगा गाडी, सबै किसिमका रक्सी, छोकडा, केराउ र मरिचको आयातमा प्रतिबन्ध लगाएको थियो।
बिहीबारकै मन्त्रिपरिषद् बैठकले ५० हजार अमेरिकी डलरभन्दा महँगा सवारी साधनको आयातसमेत खुला गर्ने निर्णय गरेको छ। यसअघि नै औद्योगिक प्रयोजनका लागि ल्याइने मरिचको आयात खुलिसकेको छ।
चैत ११ गतेबाट लकडाउन गरिएसँगै विदेशी मुद्राको चाप पर्न नदिन अर्थ मन्त्रालयले केही वस्तुको आयात रोक्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा लगेको प्रस्तावमा सवारी साधन, केराउ, मरिच, छोकडालगायतको आयात रोक्ने उल्लेख थियो।
