काठमाडौं – सरकारले तीव्र गतिमा फैलिएको कोरोना रोक्न मानिसहरुलाई जहाँको त्यहीँ दशैँ मनाउने गरी रोक्ने रणनीति बनाएको छ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा सोमबार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले दशैँसहितका चाडमा हुने आवतजावतलाई सकेसम्म कम गर्न यस्तो निर्णय लिएको हो।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दशैँ तिहारमा हुने आवातजावतलाई सकेसम्म कम गर्न मानिसहरुलाई लामो यात्रामा निस्कनुअघि कडाइका साथ सरकारको शर्त पालना गर्न आग्रह गरेका छन्। ‘
यो वर्ष चाडपर्व मनाउने र व्यापार व्यवसाय गर्ने हुँदै होइन। त्यसैले हामी जो जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ त्यस्तो अवस्थामा मनाऊँ’, गौतमले भने, ‘यदि लामो यात्रा गर्ने योजनामा छौं भने आफू र परिवारका सदस्य सात दिन पूर्णतया एकान्तबास (क्वारेन्टाइन) बसौं। कुनै लक्षण र चिन्ह छैनन् भने मात्रै यात्रामा जाने गरौं।
लक्षण वा चिन्ह देखिए यात्रा गर्दै नगरौं।’ सरकारले लामो यात्राबाट गन्तव्यमा पुगिसकेपछि पनि सात दिन एकान्तबास (क्वारेन्टाइन) मा बस्नुपर्ने बताएको छ। ‘यात्राबाट गन्तव्यमा पुगेपछि पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ’, उनले भने, ‘कोरोना फैलिन नदिन यो नियमलाई सबैले पालना गर्नैपर्छ। त्यही अनुसार हामी सम्बन्धित निकायमा पत्राचार पनि गर्दैछौं।’