विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले उत्कृष्ट जित हात पारेको छ। ब्राजिलले बुधबार विहान भएको खेलमा पेरुलाई ४-२ गोलले पराजित गरेको हो। ब्राजिलको जितमा नेइमारले ह्याट्रिक गरे।
छनोटमा लगातार दुई जित निकालेसँगै ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
खेलको पाँचौ मिनेटमा घरेलु टिम पेरुले अग्रता लियो। उसका लागि कारिलोले गोल गरे। २८ मिनेटमा ब्राजिलले पेनाल्टी पायो। प्राप्त अवसरमा नेइमारले बराबरी गोल गर्न सफल भए। नेइमारलाई पेरुका डिफेन्डरले डिबक्स भित्र तानेपछि पेनाल्टी दिइएको थियो।
३१ मिनेटमा नेइमारले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरिदिए। भिएआर रिप्ले हेर्दा ब्राजिलका रिचार्लीसन अफसाइड पोजिसनमा देखिएका थिए।
खेलको ५९ मिनेटमा पेरुले खेलमा दोस्रो पटक अग्रता लियो। तापाइले उत्कृष्ट गोल गरेर पेरुलाई २-१ ले अघि बढाए। ६४ मिनेटमा ब्राजिलले बराबरी गोल फर्कायो। रोबर्टो फिर्मिनोले उपलब्ध गराएको पासमा रिचार्लीसनले गोल गरेका थिए।
८३ मिनेटमा ब्राजिलले खेलमा पेनाल्टीमार्फत खेलमा अग्रता लियो। प्राप्त पेनाल्टीमा ब्राजिलका लागि नेइमारले गोल गरेका थिए।
८६ र ८९ मिनेटमा गरी पेरुले दुई वटा रातो कार्ड पाएको थियो। पेरुका काकेडा र जाम्ब्रानलाई रेफ्रीले रातो कार्ड देखाए। ८६ मिनेटमा बेन्चमा रहेका रिजर्भ गोलकिपर काकेडाले अभद्र व्यवाहार देखाएपछि रेफ्रीले रातो कार्ड देखाए।
८९ मिनेटमा जाम्ब्रानले ब्राजिलका रिचार्लीसनलाई मुखमा हिर्काएपछि रातो कार्ड दिइएको थियो।
इन्जुरी टाइमको चौथो मिनेटमा नेइमारले ह्याट्रिक पूरा गरे।
