काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गरेर गौर लगायत मधेशका बस्ती डुबान हुनबाट रोक्नुपर्ने बताएका छन्।
नेपालले भारतलाई र भारतले नेपाललाई दोष दिँदा बस्तीहरू वर्षेनी डुबानमा परेको भन्दै देउवाले कूटनीतिक पहलबाटै डुबानको स्थायी समाधान खोज्नुपर्ने बताए।
प्रतिनिधिसभा संसदको बुधबारको बैठकमा बोल्दै देउवाले भने, ‘भारतसँग कूटनीतिक पहल गरेर डुबानको स्थायी समाधान खोज्नुपर्यो। हामी एक भएर समस्याको समाधान खोज्न लाग्नुपर्छ, यहाँ राजनीतिक गर्ने कुरै छैन।’
तराईमा बस्तीहरू डुबानमा परेको र पहाडमा पहिरोले जनधनको क्षति भए पनि सरकार गम्भीर नभएको देउवाको भनाइ छ।
‘सरकारलाई कुनै मतलब नै छैन। हेलिकप्टरबाट घुमेरमात्रै हुन्छ? हेलिकप्टरबाट मात्रै उद्धार हुन्छ?,’ उनले प्रश्न गरे, ‘डुबान पीडितलाई भेट्न केन्द्र सरकारमात्र होइन स्थानीय सरकार पनि पुगेको छैन।’
डुबान पीडितले त्रिपाल, खाद्यान्नसमेत नपाएको भन्दै देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्।
अविरल वर्षापछि प्रदेश २ का विभिन्न जिल्लाको स्थलगत अवलोकन गरी देउवा हालै काठमाडौं फर्केका थिए।
उनले सीमामा बाँध बाधेकोजस्ता समस्याको समाधान कूटनीतिक तवरबाट मात्रै हुने बताए।
‘सरकारले कूटनीतिक पहल गर्नुपर्यो। हामी त एउटा पार्टी हो हामीले भनेर मात्रै कहाँ हुन्छ?,’ उनले भने, ‘मैले यो घटनालाई गम्भीरतापूर्वक लिएको छु। सरकारले कूटनीतिक पहल गरोस्।’
बाढी प्रभावित क्षेत्रमा रेडक्रस, विभिन्न संघसंस्थाले राहत वितरण गरे पनि सरकारको उपस्थिति कमजोर रहेको उनको भनाइ छ।
बाढी पीडितलाई अप्ठ्यारो पर्दा सरकार तात्नुपर्ने भए पनि मतलब नै नगरेको देउवाले आरोप लगाए।
‘डुबान क्षेत्रमा स्थानीय सरकार पनि पुगेको छैन। राज्यले जनताको सेवा गर्ने हो केही पनि छैन। पाल पनि दिएको छैन। खाद्यान्न डुबेर खत्तम भइसकेको छ,’ देउवाले भने, ‘भयावह स्थिति छ सरकारले ध्यान दिएको छैन सहयोग गरेको छैन।’