काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो दललाई हेर्ने सत्तारुढ नेकपाको दृष्टिकोण देखेर दया लागेको टिप्पणी गरेका छन् ।
बिहीबार आयोजित्र पत्रकार सम्मेलनमा नेकपाको प्रतिवेदनबारे पार्टीको जारी बैठकबाट थप धारणा आउने बताए । उनले भने, ‘अहिलेलाई केवल यति टिप्पणी त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ ।’ दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्ने भन्दै उनले भने, ‘दृष्टिदोषमाथि केवल दया मात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।’
कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको प्रवक्ता शर्माले बताए ।
नेकपाको राजनीतिक दस्तावेजमा कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता खरोसँग उत्रन नसकेको उल्लेख छ । साथै भ्रष्टाचारविरुद्ध खडा हुन नसक्ने मात्र होइन, कयौं सन्दर्भमा भ्रष्टचारमा संलग्नलाई संरक्षण नै दिएको नेकपाको आरोप छ ।
त्यस्तै सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्भित र दुःखीत तुल्याएको प्रवक्ता शर्माले बताए । सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित निति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ । हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ ।