काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको जनाएको छ । हाल देशका अधिकांश स्थानमा वदली रहेको जानकारी दिँदै महाशाखाले केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।
शनिबार दिउँसो धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना तथा पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार राति धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको संभावना छ । त्यस्तै मध्य र पूर्वी पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आइतबार दिउँसो धेरैजसो स्थानमा वदली भइ तथा केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पश्चिमी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार राति धेरैजसो स्थानमा वदली भइ पश्चिम, पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै पश्चिमी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार दिउँसो देशका धेरैजसो स्थानहरुमा वदली रही पश्चिम, पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने र पश्चिमी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार राति देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशको केही स्थानहरुमा मेघ गर्जनसहितको वर्षा हुने र चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । यस्तै पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो र भू/क्षयका कारण अवरोध आउन सक्ने भन्दै यात्रामा सतर्कता अपनाउन महाशाखाले अग्रह गरेको छ ।