गत वर्ष काठमाडौँ यतिबेलै नेपथ्य ब्यान्डले सांगीतिक प्रस्तुति गरेको थियो। नेपथ्यले आफ्ना दर्शकहरुसँग आमने–सामने साक्षात्कार गरेको ठीक एक वर्ष पुगेको छ।

भूकम्पको कारण क्षतिग्रस्त बन्न पुगेको दोलखाको एक सरकारी विद्यालय निर्माणार्थ गत वर्षको फागुन १७ गते नेपथ्यले आफुलाई प्रस्तुत गरेको थियो। भृकुटी मण्डपमा आयोजित त्यो कन्सर्ट नै कोरोना महामारी अगाडि ब्याण्डको अन्तिम प्रस्तुती बन्न पुग्यो।

कोभिड १९ महामारीको एक वर्षभन्दा लामो बन्धन गुजारेपछि मानव समुदायले बिस्तारै उन्मुक्तितर्फ पाइला चाल्न थालेको छ।

नेपथ्यले आफ्नो एउटा सर्वकालीक हिट गीतको ‘लाइभ भिडियो’ तमाम श्रोता दर्शकसामु प्रस्तुत गर्दैछ। सबैले सँधै सुन्दै आएको र प्रत्येकजसो कन्सर्टमा गुञ्जिने गरेको त्यो गीत हो ‘जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ’

संगीतकर्मी श्यामसुङ तामाङले यस गीतलाई तयार पारेका हुन्।

गीतमा ‘यो जिन्दगानी, यो जिन्दगानी’ असाध्यै शक्तिशाली अन्तराका रुपमा विकास भयो। अहिले पनि कन्सर्टहरुमा नेपथ्यका दर्शकहरुले यस अन्तरालाई चर्को स्वरमा गाएर सघाइरहँदा बेग्लै माहोल तयार भइरहेको देख्न सकिन्छ।

यस गीतको अडियो भिजुअल यसअघि पनि तयार भएको थियो। झण्डै डेढ दसकअघि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरुको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो।

पछिल्लो पटक भने यस गीतलाई गत वर्ष भृकुटी मण्डपमा प्रस्तुत गर्दा त्यहाँ उपस्थित श्रोता दर्शकको प्रतिक्रियालाई नै समेटेर यो नयाँ ‘लाइभ भिडियो’ तयार पारिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here