बैंकिङ कसुरमा कर्णाली प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन्।
फौजदारी अभियोग लागेका मन्त्री खत्रीलाई बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरेको जनाएका हुन्।
मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी किर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतले ठहर गरेर पक्राउ गर्न आदेश दिएपछि मन्त्रीलाई पदमुक्त गरिएको हो।
मन्त्री खत्री ठेकेदार पनि हुन् । उनको सुर्खेतमा केएसके कन्सट्रक्सन नामक कम्पनी छ ।
मन्त्रीलाई पदमुक्त गरिएपछि अर्को व्यवस्था नहुन्जेलसम्म खत्रीले सम्हाली आएको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मा मुख्यमन्त्री आफैले सम्हाल्ने बताएका छन् ।
कर्णाली प्रदेश सरकारका मन्त्री खड्कबहादुर खत्रीलाई उच्च अदालत पाटनले तीन दिनभित्र पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार मन्त्री पक्रन आदेश दिएका थिए।