काठमाडौँ – काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइएकाे छ ।
चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरि मनाएको हो । सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गरेका थिए । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

टुँडिखेलमा पूर्व-दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकाहरुलाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलन अनुसार घोडेजात्रा मनाउन थालिएको जनश्रुती छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
तस्बिरः प्रदीपराज वन्त,रासस

