काठमाडौं – नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय समितिको बैठकले गणेश लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएको छ।

तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएका नेताहरुलाई जिम्मेवारी दिने क्रममा लामालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिन लागिएको हो। तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका नेताहरुमा विजय गच्छदारले मात्रै पार्टीमा उपसभापतिको भूमिका पाएका छन्।

उपसभापति गच्छदारको समूहबाट ११ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न लागिएको स्रोतले जानकारी गराएको छ। गच्छदारका विश्वासपात्र समेत रहेका लामालाई उनकै जोडबलमा केन्द्रीय सदस्य बनाउन लागिएको हो।

गत निर्वाचनमा काभ्रे प्रदेशसभा १ ुखुबाट सदस्य उम्मेदवार बनेका उनी पराजित भएका थिए। गुण्डागर्दीमा संलग्न भएकाले विगतको नैतिक आचारण खराब भएको भन्दै उनको आलोचना हुँदै आएको छ।

कांग्रेसमा विलय भएको फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताको समायोजन गर्नका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा कार्यदलसमेत बनेको छ। गच्छदारसँगै कांग्रेस भित्रिएका नेता कार्यकर्ताको समायोजन हालसम्म हुन सकेको छैन।

हाल कांग्रेसमा केन्द्रीय सदस्य संख्या ८५ जना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here