काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापाको बिदाइमा आइतबार एक कार्यक्रमको आयोजना गरिएको छ । जंगी अड्डाले भद्रकालीमा आइतबार एक विशेष समारोह गरेर थापाको सम्मानमा बिदाइ कार्यक्रम गरेको हो ।
सैनिक मुख्यालयमा भएको कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानासेनापति थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जिवनको दौरान नेपाली सेनाको सर्वोच्च पदमा पुगेर संस्थाको श्रीवृद्धि गर्न र नेपाली सेनालाई भरोसायोग्य संगठनको रुपमा रुपान्तरण गर्न योगदान गरेको भन्दै बधाई दिएका थिए ।
उनले आगामी दिनमा रक्षा मन्त्रालय तथा नेपाली सेनाबीच साझा लक्ष्य तथा उद्देश्य प्राप्तीको लागि सदैव सहकार्य हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा का.मु. प्रधानसेनापति रथी प्रभुराम शर्माले थापाको ३ वर्षे प्रधानसेनापतिको कार्यकालमा नेपाली सेनामा भएको सांगठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तनले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल भएकोमा बधाई दिंदै आफ्नो भावी कार्यकालका मुख्य प्राथमिकताहरुका सम्बन्धमा समेत प्रकाश पारेका थिए ।
भदौ २४ गतेबाट प्रधानसेनापति थापाले अनिवार्य अवकाश पाउँदैछन् । अवकाश पाउनुभन्दा एक महिनाअघि थापा घर बिदामा बसेका थिए ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी प्रभुराम शर्मालाई शर्मालाई कायममुकायम प्रधानसेनापति तोकेकी थिइन् भने अहिले सरकारले यही भदौ २४ गतेदेखि लागू हुनेगरी प्रधानसेनापतिमा उनलाई नियुक्त गरिसकेको छ ।
थापाको बिदाइ समारोहमा कामु प्रधानसेनापति शर्मासहित सैनिक उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा थापालाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

प्रधानसेनापति थापाले अवकाशपछि नेपाली सेनालाई कृषि तथा पशुपालनमा लाग्ने बताइसकेका छन् ।
२०३६ सालबाट अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थापाले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै २०७५ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।

उनले २०७१ मा मध्यपूर्वस्थित गोलान हाइटमा संयुक्त राष्ट्रसंघीय मिसन युएनडिओएफको हेड अफ मिसन र फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालेका थिए। तीन वर्षे कार्यकालमा थापाले नेपाली सेनाको संगठानिक सुधारमा महत्वपूर्ण काम गरेका छन्।
उनले सेनाको भर्ना प्रक्रिया, शान्ति सेनामा छनोट प्रक्रियादेखि सेनाभित्र हुने अनियमितता, भ्रष्टाचार नियन्त्रण, सैन्य आचरणको पालना, तल्लो दर्जाका सैनिकहरूको हक हित र सुनुवाइलगायतका क्षेत्रमा महत्वपूर्ण सुधार गरेका छन् ।

