आज नेपाल संवत् ११४२ सुरु भएको छ। नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा धुमधामसँग मनाएका छन्।
हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल संवत् फेरिन्छ। यस अवसरमा आज काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा नेपाल संवत् विशेष रूपमा मनाइएको छ।
राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए ।
गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।
यसै सन्दर्भमा नेवारी पोशाकमा सजिएकाहरूको केही झलक
फोटो: सरन महर्जन/अन्नपूर्ण टाइम्स


