सुर्खेत – विप्लव समूहद्वारा अपहृत दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले आइतबार साँझ अपहरणमुक्त गरेको छ ।
उनलाई नेकपा विप्लव समूहको अखडा मानिएको कालिकोटबाट अपहरणको १८ घण्टापछि मुक्त गरिएको हो ।
अपहरणमुक्त गर्ने क्रममा प्रहरीले गोलीसमेत चलाएको थियो ।
अध्यक्ष शाहीलाई शनिबार मध्यरातमा घरबाटै अपहरण गरिएको थियो । उनलाई प्रहरीले कालिकोट शुभकालिका गाउँपालिका–१ स्थित जंगलबाट अपहरणमुक्त गरेको हो ।
अपहरणको सूचनापछि आइतबार बिहानैदेखि दैलेख, अछाम र कालिकोटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
‘करिब १८ घण्टा लगाएर गाउँपालिका अध्यक्ष शाहीलाई अपहरणमुक्त गराएका छौं, सयौंको संख्यामा प्रहरी खटाएका थियौं,’ कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले भने, ‘प्रहरीको लामो प्रयासपछि अध्यक्ष शाहीलाई प्रहरीको सम्पर्कमा ल्याउन सफल भएका छौं ।’
अपहरणमुक्त गराउन गएका प्रहरीमाथि विप्लव कार्यकर्ताले ढुंगामुढा गरेका थिए । प्रहरीले गोली चलाएपछि विप्लवका कार्यकर्ता भागेको र अध्यक्ष शाहीको उद्धार गरिएको डीआईजी जोशीले जानकारी दिएको समाचार पवित्रकुमार शाहीको बाइलाइनमा आजको राजधानी दैनिकमा प्रकाशित छ ।
