सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी छिट्टै जेलबाट छुट्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले चौधरी भूमीगत रहेका बेला भारतमा प्रधानमन्त्रीको हैसियतमै आफूले भेटेको जानकारी दिए । चौधरी पक्राउ परेपछि पनि डिल्लीबजार जेलमा पुगेर भेटेको समेत उनले बताए । उनले सभामुख, सरकार र पार्टीलाई भनेर रेशम चौधरीलाई सपथ गराई माननीयको दर्जा दिलाउन भूमिका खेलेको जिकिर गरे ।
उनले अहिले पनि सरकार र पार्टीसँग टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस गरिरहेको बताए । चौधरीको मात्र नभइ अरुको पनि झुटा मुद्दा खारेज गर्नुपर्ने उनले बताए । नेकपा अध्यक्ष दाहालले आफूले पहिचानको आन्दोलन नछाडेको दाबी समेत गरे । पहिचान र अधिकारका निम्ति फेरि पनि बहस भइरहेको भन्दै उनले नयाँ चिज लिन खोज्दा पोल्टामा भएको नखसोस् भन्नेतर्फ सचेत हुनुपर्ने बताए ।