काठमाडौं । अभिनेता एवम् मोडल पल शाहले आइतबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
चार दिनदेखि प्रहरीले खोजी गरिरहेको भए पनि पक्राउ गर्न सकेको थिएन। आइतबार बिहान उनले सामाजिक सञ्जालमार्फत आजै आत्मासमर्पण गर्ने जानकारी गराएका थिए।
उनले बिहान फेसबुकमा स्टाटस लेखेका थिए भने पछि भिडियो पनि सार्वजनिक गरेका थिए । उनले भिडियोमार्फत भने, ‘जाहेरी परेको ३÷४ दिन भयो होला। सबैले भन्नु भएको रहेछ किन कहाँ गयो रु के भयो, कस्तो छ अवस्था ? मेरो अवस्था ठिक छ अहिले।’
आत्मसमर्पण गर्न ढिलो गर्नको कारण घर व्यवहार मिलाउनुपरेको र स्वास्थ्य स्थिति पनि कमजोर भएको भन्दै उनले त्यही भएर आफू नेपाल प्रहरीसामु उपस्थित हुन नसकेको बताए ।
त्यसप्रति माफी माग्दै उनले आफ्नो कारण कसैलाई अप्ठ्यारो परेको छ भने क्षमासमेत मागेका छन् । उनले आफू निर्दोष भएको दाबी गर्दै अदालतमा त्यस्ता प्रमाण दिने बताएका छन्।
उनले भने, ‘अब म मेरोतर्फबाट आफ्ना कुराहरु राख्नेछु । मसँग भएका प्रमाणहरु पनि दिनेछु। मलाई डे वान बाटै फसाउँदै फसाउँदै यहाँसम्म ल्याइएको छ । म त्यो पनि भन्ने छु सम्मानित अदालतमा ।’
प्रहरी नियन्त्रणमा भएपनि गत शुक्रबार मात्रै रिलिज भएको फ्लिम ‘म यस्तो गीत गाउँछु २’ दर्शक र निर्माता टिमसँग बसेर हेर्ने चाह व्यक्त गरेका छन्।
आफ्नो तीन चार वर्षदेखिको एउटा सपना नेपाली फ्लिम दर्शकहरुसँग बसेर हेर्ने रहेको तर अब प्रहरी समक्ष गइसकेपछि त्यो रहर पुरा नहुने भएको उनले बताए ।
सम्भव भए त्यो सपना पूरा गरिदिन उनले अनुरोध गरेका छन्। उनले आफू आजदेखि प्रहरीसामु हुने र अब सम्मानित अदालतले जे निर्णय गर्नेछ त्यसमा आफू खुशी हुनेसमेत उनले बताएका छन् ।
आइतबार नै जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्नेछ। पोखरा घर भएकी एक गायिकामाथि बलात्कार गरेको भन्दै उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा गत बुधबार जाहेरी दिएका थिए।
विवाह गर्ने प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। पलको घर दाङ र गायिकाको घर पोखरा भए पनि अन्तिम घटनास्थल तनहुँ भएकाले तनहुँमा जाहेरी दर्ता भएको हो।
मुलुकी अपराध संहिताअनुसार १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
