काठमाडौं । अभिनेता पल शाह प्रकरणमा नेपाली कलाकारहरु विस्तारै बोल्न थालेका छन् । मंगलबार मात्रै नायिका रेखा थापा र ऋचा शर्माले सामाजिक संजालबाटै नाबालिका गायिकाको पक्षमा आवाज उठाएका थिए । सेलिब्रेटीका धारणा सार्वजनिक हुने क्रममा पूर्वमिस नेपाल श्रृंखला खतिवडाले पनि नाबालिका गायिकाको पक्षमा बोलेकी छिन् ।
उनले एक वयस्कले नाबालिगमाथि सम्बन्ध स्थापित गर्नु कानून विपरित रहेको भन्दै उनले पीडितको पक्ष लिएकी हुन् ।
खतिवडाले कानूनको सम्मान गर्दै भनेकी छिन्, ‘यस्ता कानून वयस्कहरुलाई नाबालिगको खोजि गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन्। जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् वा जसले महसुस गर्छन् की उनीहरुसँग यो मामिलामा कुनै विकल्प नै छैन।’
उनलाई पछिल्लो समय चर्चामा रहेको पल शाह प्रकरणपछि आएका प्रतिकृयाले अचम्ममा पारेकोसमेत बताएकी छिन् ।
उनी भन्छिन्, ‘मलाई अझै विश्वास लागिरहेको छैन कि मानिसहरु एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेका छन्’ उनी प्रश्न गर्छिन् ‘त्यो सम्बन्धले युवतीमा कस्तो मा’नसिक प्र’भाव पारेको छ भन्ने कुरा तपाईंले कल्पना गर्नु भएको छ ?’
उनले पीडितका बारेमा नानाथरी धारणा बनाउनेलाई नाबालिगसँगको सम्बन्धबारे किन कानुन बनाइएको भनेर गुगलमा सर्च गर्न आग्रह गरेकी छिन्। खतिवडाले नाबालिगका लागि प्रार्थना गरेकी छिन्।
उनी भन्छिन्, ‘यस्तो घृणा सहन असाध्यै नै गाह्रो हुन्छ। आत्मबल बलियो राख्नु। हामी तिम्रो साथमा छौँ बहिनी। नाबालिगसँग सम्बन्ध स्थापित गर्नु अपराध हो । यसमा कुनै यदि र तर लागु हुँदैनन्। पीडितलाई आरोप लगाउने गल्ती नगर्नुहोस्।’
हिजोआज धेरै नाबालिग आफूभन्दा निक्कै पाको उमेरका पार्टनरसँग यौ सम्बन्धमा रहेको र त्यसको घाउ जीवनभर बोकेर हिँडेको खतिवडाको तर्क छ।
