काठमाडौं- आर्थिक अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका अवकाशप्राप्त दुई डीएसपी पक्राउ परेका छन्।
हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका त्रिलोक चन्द र कृष्णबहादुर कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको हो।
लेखापालसँग मिलेर प्रहरीको तलब, रासनलगायतको बजेट हिनामिना गरेको आरोपमा आयोगले उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ।
तत्कालीन लेखापाल वीरेन्द्र चन्द्रलाई पनि आयोगले नियन्त्रणमा लिएको छ।
आजको नयाँ पत्रिका दैनिकका अनुसार २०७० र २०७१ सालमा जिल्ला प्रहरी कार्यालय हुम्लामा बजेट हिनामिना भएको थियो ।
जिल्लामा कार्यरत नै नरहेका प्रहरीको नाममा किर्ते हस्ताक्षर गरी तलब निकासा गरी अनियमितता गरेको खुलेपछि हिरासतमै लिएर आयोगले छानबिन अघि बढाएको हो।
अनियमिततामा संलग्न तत्कालीन लेखापाल सइ चन्दलाई प्रहरीले सेवाबाट पहिले नै बर्खास्त गरिसकेको थियो।
अनियमिततामा दुई डीएसपीकै मिलेमतो भएपछि प्रहरी नेतृत्वबाट भएको छानबिनमा उनीहरूलाई जोगाइएको थियो।
अख्तियारमा उजुरी परेपछि प्रारम्भिक छानबिन गरी उनीहरू पक्राउ परेका हुन्।
अनियमिततामा दुवै डीएसपीको मिलेमतो रहेको आयोगको दाबी छ।
त्यतिवेला प्रहरीलाई व्यक्तिगत रूपमै तलब दिइने भएकाले यस्ता अनियमितता भएको हो।
हाल बैंक खातामार्फत तलब र रासनभत्ता निकासा हुने गरेको छ।